खेलकुद
अन्नपूर्ण स्पाइकर किंग्स बन्यो पहिलो नेपाल भलिबल लिगको च्याम्पियन, कर्णाली सोझो सेटमा पराजित
उपाधिसँगै अन्नपूर्णले जित्यो २० लाख रुपैयाँ, मस्ट भ्यालुएबल प्लेयर बने उरनबयार मुंखबयार
अन्नपूर्ण स्पाइकर किंग्सले कर्णाली शिवराजलाई सोझो सेटमा पराजित गर्दै पहिलो नेपाल भलिबल लिग (एनभीएल) को उपाधि जितेको छ। उपाधिसँगै अन्नपूर्णले २० लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता कर्णालीले ५ लाखमा चित्त बुझायो। अन्नपूर्णका उरनबयार मुंखबयार प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए।
अन्नपूर्ण स्पाइकर किंग्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको फाइनल भिडन्तमा अन्नपूर्णले कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा पराजित गर्दै ऐतिहासिक उपाधि आफ्नो पोल्टामा पारेको हो।
फाइनल खेलमा अन्नपूर्णले कर्णालीमाथि पूर्ण रूपमा दबाब कायम राख्दै २५–१५, २५–२० र २५–१८ को सहज जित दर्ता गर्यो। यस जितसँगै अन्नपूर्णले लिगको राउन्ड रोविन चरणमा कर्णालीसँग ब्यहोरेको १–३ को हारको बदला समेत लिएको छ। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका अन्नपूर्णका उरनबयार मुंखबयार ‘म्यान अफ द म्याच’ घोषित भए।
उपाधि विजेता अन्नपूर्ण स्पाइकर किंग्सले नगद २० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको कर्णाली शिवराजले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ। नेपाल भलिबल लिगको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको थियो, जुन नेपाली भलिबल इतिहासकै हालसम्मको सर्वाधिक पुरस्कार राशि हो। नेपालमा पहिलोपटक पुरुष भलिबलको फ्रेन्चाइज लिग आयोजना गरिएको हो।
लिग चरणमा अन्नपूर्ण १२ अंकसहित तालिकाको शीर्ष स्थानमा रहँदै सिधै फाइनलमा प्रवेश गरेको थियो। पहिलो खेलमा कर्णालीसँग पराजित भए पनि अन्नपूर्णले त्यसपछिका लगातार चार खेलमा जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो। अन्नपूर्णले लिग चरणमा काठमाडौं रेड्सलाई ३–०, मधेश वारियर्सलाई ३–१, खप्तड फाल्कन्सलाई ३–० र सगरमाथा स्म्यासर्सलाई ३–१ ले हराएको थियो।
अर्कोतर्फ, कर्णाली शिवराजले फाइनल पुग्नका लागि काठमाडौं रेड्ससँग प्लेअफ खेल्नुपरेको थियो। लिग चरणमा कर्णाली ११ अंक र काठमाडौं १० अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेका थिए। प्लेअफ खेलमा कर्णालीले काठमाडौंलाई ३–१ ले पराजित गर्दै अन्नपूर्णसँगको फाइनल भेट पक्का गरेको थियो।
प्रतियोगिताको व्यक्तिगत उत्कृष्ट खेलाडी विधामा पनि च्याम्पियन अन्नपूर्णकै वर्चस्व रह्यो। कुल ७ विधाका व्यक्तिगत पुरस्कारमध्ये ४ वटा विधा अन्नपूर्णका खेलाडीले हात पारे। अन्नपूर्णका उरनबयार मुंखबयार प्रतियोगिताकै ‘मोस्ट भ्यालुएबल प्लेयर’ (सर्वोत्कृष्ट खेलाडी) घोषित हुँदै १ लाख रुपैयाँ नगद पुरस्कार जित्न सफल भए।




